काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ।
समितिका सचिव दिनेश थापा मगरले सूचना जारी गर्दै बैठकबारे जानकारी दिएका हुन्। उनका अनुसार बैठकमा विभिन्न नेताविरुद्ध प्राप्त उजुरीहरूमाथि छलफल हुने छ।
विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति चयन भइसकेपछि त्यसको विपक्षमा रहेका शेरबहादुर देउवा पक्षका केही नेताविरुद्ध उजुरी परेको स्रोतले जनाएको छ।
यसअघि जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परेको विरोधमा पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेका थिए। त्यसलगत्तै कांग्रेसले खड्कासँग सात दिने स्पष्टीकरण मागेको थियो।