शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सर्वोच्चको फैसला स्वीकारेर अघि बढ्ने देउवा पक्षको निष्कर्ष

आइतबार, बैशाख ६ २०८३

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ ।

कांग्रेसको आधिकारिकताबारे सर्वोच्च अदालतले शुक्रबार विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिएपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा शनिबार बसेको देउवा समूहको बैठकले अदालतको निर्णय मानेर अगाडि बढ्ने निर्णय गरेको हो ।

बैठकपछि नेता मीनबहादुर विश्वकर्माले असहमति भए पनि सर्वोच्चको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालिएको बताए । उनले अब पार्टीलाई एकताबद्ध बनाउँदै लैजाने जिम्मेवारी सभापति गगन थापाको काँधमा आएको बताए ।

उनले विगतमा पार्टीलाई अगाडि बढाउने जिम्मा शेरबहादुर देउवामा रहेको र अब विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाले पार्टीलाई कसरी एकताबद्ध बनाउने, कसरी ठूलो बनाउने र भावनात्मक रूपमा सबैलाई कांग्रेस पक्षमा आबद्ध गराउने भन्ने जिम्मेवारी सम्हाल्नुपर्ने बताए ।

बैठकमा सहभागी नेता डा. प्रकाशशरण महतले कानुनी रूपमा पार्टीको विवाद टुंगिए पनि राजनीतिक रूपमा अझै ठूलो समस्या बाँकी रहेको बताए । उनले पार्टी एकताको पहल विशेष महाधिवेशन पक्षधरले गर्नुपर्ने धारणा राखे ।

महतले १५औँ महाधिवेशनका लागि दुवै पक्षको सहभागितामा साझा संयन्त्र निर्माण गर्नुपर्ने प्रस्ताव राखिएको बताए । उनका अनुसार उक्त संयन्त्रले पूर्ण अधिकारसहित अधिवेशन सम्पन्न गरेमा त्यसबाट चयन हुने नेतृत्वमा सबैको स्वामित्व रहनेछ ।

उनले अहिले विशेष महाधिवेशनमा एउटा पक्ष मात्र सहभागी भएकाले हालको कमिटीका निर्णय एकपक्षीय देखिएको बताए । आफूहरू भने पार्टी एक भएर अघि बढ्नुपर्ने पक्षमा रहेको उनको भनाइ थियो ।