विशेष महाधिवेशनको मुद्दालाई अगुवाइ गर्ने राजनीतिक जोखिम लिएका गगनकुमार थापा अन्ततः देशकै पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसको नेतृत्वमा स्थापित भएका छन्। सर्वोच्च अदालतबाट वैधानिकता पाएसँगै थापाको नेतृत्व अब औपचारिक र राजनीतिक दुवै रूपमा बलियो बनेको छ।
नेपाली कांग्रेसको इतिहासमा विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएको यो दोस्रो घटना हो। यसअघि २०१४ सालमा विराटनगरमा सम्पन्न पहिलो विशेष महाधिवेशनले बीपी कोइरालालाई सभापतिमा निर्वाचित गरेको थियो। भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका हुन्।
अब थापाको काँधमा पूर्वप्रतिबद्धताअनुसार कांग्रेसलाई व्यवस्थित, सुदृढ र समयसापेक्ष बनाउने जिम्मेवारी आएको छ। थापा नेतृत्वको कार्यसमितिले आगामी असोजमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। पार्टीभित्र व्यापक एकता कायम गर्दै महाधिवेशन सम्पन्न गर्नु उनको तात्कालिक चुनौती मानिएको छ।
विशेष महाधिवेशनमार्फत नेतृत्वमा आएपछि पनि आन्तरिक असहयोग र सीमित तयारीका बीच थापाले कांग्रेसलाई निर्वाचनमा होमेका थिए। प्रतिनिधिसभा निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनपछि अब वैध नेतृत्व पाएका थापासामु संगठन पुनर्निर्माण र जनविश्वास फर्काउने चुनौती थपिएको छ।
नियमित महाधिवेशनमार्फत थप चार वर्षका लागि नेतृत्वमा निरन्तरता पाउने अवसर पनि थापासँग खुला भएको छ। पार्टी रूपान्तरणका लागि अघि सारेका नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने निर्णायक अवसर अब उनकै हातमा पुगेको छ।