काठमाडौँ । ‘टाइम म्यागेजिन’ले सन् २०२६ का लागि सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाह समावेश गरिएको जनाएको छ।
म्यागेजिनले ३५ वर्षीय शाहलाई पूर्व ‘हिप–हप’ कलाकारदेखि देशकै सबैभन्दा कान्छा प्रधानमन्त्रीसम्मको यात्राबारे चर्चा गर्दै दक्षिण एसियाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने व्यक्तिका रूपमा चित्रण गरेको उल्लेख गरिएको छ।
प्रधानमन्त्री शाहको उदय युवापुस्ताको समर्थन र परम्परागत राजनीतिक दल तथा संरचनाप्रतिको असन्तुष्टिको परिणामका रूपमा भएको म्यागेजिनले जनाएको छ।
काठमाडौँ महानगरपालिकाका प्रमुख रहँदा उनले फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका सुधारको पनि म्यागेजिनले चर्चा गरेको छ। साथै, प्रधानमन्त्रीका रूपमा शाहप्रति नेपाली जनताको बढ्दो विश्वास र प्रभावकारी नेतृत्वको अपेक्षाबारे पनि उल्लेख गरिएको जनाइएको छ।