बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सलहेश फूलबारीमा नयाँ वर्ष मेला: सुनाखरी फूल हेर्न श्रद्धालुको घुइँचो

मंगलबार, बैशाख १ २०८३

सिरहा । नयाँ वर्ष २०८३ को अवसरमा सलहेश फूलबारी मा आज भव्य मेला लागेको छ। विशेषगरी वर्षमा एकपटक मात्र फुल्ने विश्वास गरिएको दुर्लभ सुनाखरी फूलको दर्शन गर्न बिहानैदेखि श्रद्धालुहरूको ठूलो भीड लागेको हो।

लहान नगरपालिका–१२ र २२ मा फैलिएको करिब नौ बिघा क्षेत्रफलमा रहेको फूलबारीभित्रको हारमको रूखमा आज बिहानैदेखि सुनाखरी फूल ढकमक्क फक्रिएको छ। १४औँ शताब्दीका लोकनायक राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेमको प्रतीक मानिने यो फूल हेर्न नेपालका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतीय सहरहरूबाट समेत हजारौँ भक्तजन आएका छन्।

मेला व्यवस्थापन समितिका अध्यक्ष दशमीलाल चौधरीका अनुसार बिहान ४ बजेदेखि नै मन्दिरमा पूजा गर्नेहरूको लामो लाइन लागेको छ। विशेषगरी पासवान समुदायका इष्टदेवका रूपमा पूजिने राजा सलहेशको आराधना गर्दा मनोकामना पूरा हुने, निःसन्तानलाई सन्तान प्राप्त हुने तथा रोगव्याधिबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ।

भक्तजनको अत्यधिक भीडलाई मध्यनजर गर्दै मेला क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ। नेपाल प्रहरीसशस्त्र प्रहरी बल नेपाल ले संयुक्त रूपमा गस्ती बढाएका छन् भने सादा पोसाकका प्रहरी र सिसीटिभीमार्फत निगरानीसमेत गरिएको छ।

यातायात र आवतजावत सहज बनाउन स्वयंसेवकहरू परिचालन गरिएको मेला समितिले जनाएको छ। यद्यपि सरकारले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा सूचीमा राखे पनि आवश्यक पूर्वाधार विकास हुन नसकेको भन्दै स्थानीय सरोकारवालाहरूले असन्तुष्टि जनाएका छन्।

जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाका अध्यक्ष प्रदीपकुमार गुप्ताले तीनै तहका सरकारबीच समन्वय गरी एकीकृत गुरुयोजना निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै यस क्षेत्रलाई व्यवस्थित धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।