बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

भक्तपुर–थिमिमा बिस्केट जात्राको रौनक, हजारौँ भक्तजनको घुइँचो

मंगलबार, बैशाख १ २०८३

काठमाडौं । बिस्केट जात्रा को अवसरमा नयाँ वर्षको पहिलो दिन आज भक्तपुर र मध्यपुर थिमि क्षेत्रमा भव्य उत्सव मनाइएको छ। जात्रा अवलोकन गर्न विभिन्न जिल्लाबाट हजारौँ भक्तजनको भीड लागेको छ।

परम्परागत तान्त्रिक विधिअनुसार मनाइने यो जात्रा आज बिहानैदेखि सुरु भएको हो। भक्तपुरको भेलुखेलस्थित ल्यासिंखेलमा चैत मसान्तको साँझ उठाइएको इन्द्रध्वजासहितको लिङ्गो हेर्न भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेलगायतबाट ठूलो संख्यामा दर्शक भेला भएका छन्।

पचपन्न हात लामो लिङ्गो दर्शन गरे शत्रु नाश भई सहकाल आउने विश्वास रहिआएको छ। चैत मसान्तमा लिङ्गो उठाइने र वैशाख १ गते साँझ ढाल्ने परम्परा रहेको छ।

यता दधिकोट–सिरुटार सङ्गमस्थलस्थित चरखण्डी महादेव मन्दिर मा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। मन्दिरको कुण्डमा स्नान गरी पूजा गर्दा रोग नाश भई कार्य सफल हुने जनविश्वास छ। यही विश्वासका कारण बिहान ४ बजेदेखि नै स्नानार्थीको भीड लागेको थियो।

चारखण्डी मेलामा युवाहरूले शरीरमा बत्ती बालेर बस्ने परम्परा पनि कायम छ, जसले पाप नष्ट भई पुण्य प्राप्त हुने विश्वास गरिन्छ।

त्यसैगरी सिरुटार र बालकोटका स्थानीयले गुप्तेश्वर महादेव मन्दिरमा खट यात्रा गरी जात्रा मनाएका छन् भने दधिकोटको छुमा गणेश मन्दिर मा पनि मेला लागेको छ।

उता मध्यपुर थिमिमा चैत मसान्तको साँझदेखि सुरु भएको चान्हेसिया ९रात्रि० जात्रा आज बिहान सम्पन्न भएको छ। यस क्रममा बालकुमारी मन्दिर केन्द्रमा राखी विभिन्न देवगणको खट यात्रा गराइएको थियो।

थिमिमा मनाइने विष्णुवीर तथा सिद्धिकाली जात्रा पनि आज सम्पन्न भएको छ। विभिन्न टोल परिक्रमा गराइ देवगणलाई पुनः आफ्नै स्थानमा विराजमान गराउँदै जात्रा विसर्जन गरिएको छ।

यसरी परम्परा, आस्था र सांस्कृतिक विविधताले भरिएको बिस्केट जात्राले नयाँ वर्षको स्वागत उत्साहपूर्वक गरिएको छ।