बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

सिंहदरबारको इन्टरनेट सेवा सुधार्न सरकारको पहल

सोमबार, चैत्र ३० २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सिंहदरबार र आसपासका सरकारी निकायमा इन्टरनेट सेवा थप सहज, छिटो र अवरोधरहित बनाउन पहल थालेको छ।

मन्त्रालयले सिंहदरबार क्षेत्रको इन्टरनेट पूर्वाधारसम्बन्धी निकायका रूपमा रहेको एकीकृत डाटा व्यवस्थापन केन्द्रलाई आवश्यक निर्देशन दिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले केन्द्रका प्रमुख मनिष भट्टराईसँगको छलफलका क्रममा इन्टरनेट सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नहुने स्पष्ट निर्देशन दिएका हुन्।

मन्त्री तिमिल्सिनाले सिंहदरबारभित्रका सबै निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै सम्भावित अवरोधका कारण पहिचान गरी समयमै समाधान गर्न आग्रह गरे। उनले डिजिटल सेवाको गुणस्तर सुधार नगरी प्रभावकारी प्रशासन सम्भव नहुने भन्दै प्रविधिमा आधारित सेवा प्रवाहलाई सरकारको प्राथमिकतामा राखिएको बताए।

त्यसैगरी, उनले दक्ष प्राविधिक जनशक्ति परिचालन गरी समस्या आए तत्काल समाधान गर्ने व्यवस्था मिलाउन नेपाल टेलिकमलाई पनि निर्देशन दिएका छन्।

छलफलका क्रममा एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुख भट्टराईले सिंहदरबारभित्र कहिलेकाहीँ इन्टरनेट सुस्त हुने तथा सम्पर्क टुट्ने समस्या देखिएको जानकारी दिए। उनका अनुसार हाल केही कार्यालयमा १ जीबीपीएस क्षमताको ब्रोडब्यान्ड सेवा र ‘जी–क्लाउड’ सञ्चालनका लागि २५० एमबीपीएस अतिरिक्त सेवा प्रयोग भइरहेको छ।

उनले प्रायः समस्या अप्टिकल फाइबरमा हुने अवरोधका कारण उत्पन्न हुने गरेको उल्लेख गर्दै सडक तथा पूर्वाधार निर्माणका क्रममा फाइबर क्षति पुग्ने समस्या देखिएको बताए। दीर्घकालीन समाधानका लागि फाइबरलाई भूमिगत रूपमा व्यवस्थित गर्नुपर्ने आवश्यकता उनले औँल्याए।

पहिले वैकल्पिक प्रणालीमार्फत सेवा निरन्तरता कायम राख्ने व्यवस्था रहे पनि हाल त्यो प्रणाली कमजोर बनेको र त्यसलाई पुनः सुदृढ बनाउने तयारी भइरहेको पनि जानकारी दिइएको छ।

सरकारले डिजिटल पूर्वाधार सुदृढ गरी सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्यसहित यो पहल अघि बढाएको हो।