काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार उक्त विवरण सार्वजनिक गरेको जनाएको छ।
प्रधानमन्त्री शाहले आफ्नो सम्पत्ति विवरणमा पत्नी सविना काफ्लेको नाममा १९० तोला सुन पैत्रिक रूपमा प्राप्त भएको उल्लेख गरेका छन्। काठमाडौँ, धनुषा र महोत्तरीमा बुबाआमाको नाममा घरजग्गा रहेको उनले जनाएका छन्। साथै सामाजिक सञ्जालबाट एक करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको विवरण पेश गरेका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चारवटा घर तथा अपार्टमेन्ट रहेको उल्लेख गरेका छन्। उनले विदेशको रोजगारीलाई सम्पत्तिको मुख्य स्रोतका रूपमा देखाएका छन्। बैंकमा एक करोड ९० लाख रुपैयाँ बचत, ४५ तोला सुन तथा विभिन्न जलविद्युत् आयोजना र एक विकास बैंकमा सेयर लगानी रहेको उनले बताएका छन्।
गृहमन्त्री सुधन गुरुङले धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको र उक्त सम्पत्ति लगानीबाट जोडेको बताएका छन्। उनका अनुसार परिवारको नाममा चितवन र गोरखामा समेत जग्गा रहेको छ। उनले सेयर बजारमा चार करोड ३१ लाख रुपैयाँभन्दा बढी लगानी, ८९ तोला सुन तथा विभिन्न कम्पनीमा सेयर रहेको उल्लेख गरेका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले बुबाको नाममा काठमाडौँमा घर तथा तनहुँ, नवपुर र नेपालगन्जमा जग्गा रहेको जनाएका छन्। साथै १३ लाख रुपैयाँ नगद, २२ तोला सुन र आफू तथा श्रीमतीको नाममा विभिन्न कम्पनीमा सेयर रहेको बताएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले १५ तोला सुन, ५० तोला चाँदी तथा परिवारको नाममा घर, बैंकमा ६४ लाख रुपैयाँभन्दा बढी नगद, सेयर लगानी र सवारीसाधन रहेको उल्लेख गरेका छन्।
कानुनमन्त्री सोविता गौतमले काठमाडौँ र चितवनमा घर रहेको, १० लाख ५० हजार रुपैयाँ नगद बचत रहेको र विभिन्न बैंकबाट ऋण लिएको बताएका छन्। उनले १५ तोला सुन, एक तोला हिरा र नौ तोला चाँदी रहेको उल्लेख गरेकी छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले आफ्नो सम्पत्तिमा २० वटा कुखुरा, एउटा कुकुर, स्कुटर, ल्यापटप र मोबाइल रहेको उल्लेख गरेकी छन्। उनले ५० हजार रुपैयाँ नगद, १५ लाख रुपैयाँ बैंक बचत, १८ तोला सुन र १५ तोला चाँदी रहेको जनाएकी छन्।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले बैंकमा ९० लाख रुपैयाँ नगद, ३० तोला सुन, ५० तोला चाँदी तथा विभिन्न जिल्लामा घरजग्गा रहेको बताएका छन्।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले काठमाडौँ र बारामा जग्गा, २५ तोला सुन, २४ लाख रुपैयाँ बचत तथा २० लाख रुपैयाँ ऋण रहेको उल्लेख गरेकी छन्।
कृषिमन्त्री गीता चौधरीले पाँच तोला सुन, १०० तोला चाँदी, बैंकमा १ लाख २६ हजार रुपैयाँ तथा दुईवटा बाख्रा र १० वटा कुखुरा रहेको बताएकी छन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले काठमाडौँ र महोत्तरीमा जग्गा, १८० तोला सुन, दुई किलो चाँदी, हिराका गहना तथा तीन करोड ३८ लाख रुपैयाँबराबरको लगानी रहेको उल्लेख गरेकी छन्।
स्वास्थ्यमन्त्री निशा मेहताले परिवारको नाममा घरजग्गा, ३० तोला सुन, ५० तोला चाँदी, बैंक बचत, सेयर तथा सवारीसाधन रहेको बताएकी छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले पोखरामा घर, पैत्रिक जग्गा, ११ तोला सुन र पाँच तोला चाँदी रहेको उल्लेख गरेका छन्। साथै बैंक तथा सहकारीमा नगद र ऋण रहेको बताएका छन्।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले श्रीमतीको नाममा काठमाडौँमा घर, तलबभत्ता तथा आम्दानीबाट खरिद गरिएको सम्पत्ति, सुनचाँदी र १० लाख रुपैयाँभन्दा बढी बचत रहेको जनाएका छन्।
श्रममन्त्री रामजी यादवले सप्तरीमा पैत्रिक घरजग्गा, ८० तोला सुन, १५० तोला चाँदी तथा बैंकमा नगद बचत रहेको उल्लेख गरेका छन्।
सम्पूर्ण मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरणमा चलअचल सम्पत्ति, नगद, सुनचाँदी, सेयर तथा ऋणसम्बन्धी विवरण समावेश गरेका छन्।