काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक वर्षमा देशभर कुल ७,६४८ विपद्का घटना भएका छन्, जसमा सबैभन्दा धेरै आगलागी र डढेलोसँग सम्बन्धित घटना रहेका छन्।
प्राधिकरणका अनुसार आगलागीका घटना अत्यधिक देखिनुले सावधानी र पूर्वतयारीमा सरकारी निकाय तथा सर्वसाधारण दुवैको सक्रियता आवश्यक रहेको औँल्याएको छ। जनचेतनाको कमी, लापरबाही तथा सुक्खा वन र ज्वलनशील वस्तुमा आगो लगाउने प्रवृत्तिले ठूलो जनधनको क्षति हुने गरेको तथ्याङ्कले देखाएको छ।
गत वैशाख १ देखि चैत २७ गतेसम्मको अवधिमा मात्र आगलागीका ३,७२० घटना भएका छन्। ती घटनामा १०५ जनाको ज्यान गएको छ भने ५७१ जना घाइते भएका छन्। साथै ४,२६० परिवार प्रभावित भएका छन्।
त्यसै अवधिमा डढेलोका ३२८ घटना भएका छन्, जसमा दुई जनाको मृत्यु, तीन जना घाइते र ५८ परिवार प्रभावित भएका छन्।
प्राधिकरणले आगलागी न्यूनीकरणका लागि ज्वलनशील पदार्थ सुरक्षित रूपमा राख्ने, जनचेतना अभिवृद्धि गर्ने तथा जोखिम कम गर्ने उपाय अपनाउन सबैलाई आग्रह गरेको छ।
यस्तै, चैत २७ गते बिहानदेखि २८ गते बिहानसम्म मात्रै देशभर १९ विपद्का घटना भएका छन्, जसमध्ये १६ वटा आगलागीका रहेका छन्। सुक्खा मौसममा आगलागीका घटना बढ्ने भएकाले विशेष सतर्कता अपनाउन प्राधिकरणले पुनः आग्रह गरेको छ।
यसैबीच वन तथा वातावरण मन्त्रालयले पनि डढेलो तथा आगलागी नियन्त्रणका लागि आफ्ना निकाय परिचालन गरिरहेको जनाएको छ।