काठमाडौँ । देशभर हाल कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसकै असरले विभिन्न क्षेत्रमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।
महाशाखाका अनुसार अहिले पहाडी र हिमाली भेगमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने, पहाडी भूभागमा आंशिक बदली हुने तथा तराईमा मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र बागमती तथा गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।
आज राति भने हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
सम्भावित वर्षा तथा हिमपातलाई मध्यनजर गर्दै ती क्षेत्रका सर्वसाधारण, यात्रु तथा यातायात सञ्चालनकर्तालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।