काठमाडौँ । नेपाल प्रहरी ले गुण्डागर्दी, बिचौलिया गतिविधि तथा अभद्र व्यवहार नियन्त्रणका लागि सञ्चालन गरेको खोजी अभियानमा चार दिनमै २ सय २६ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्ले का अनुसार चैत १८ देखि २१ गतेसम्म सञ्चालन गरिएको अभियानअन्तर्गत पक्राउ परेकामाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार चैत १८ गते काठमाडौँ उपत्यकाबाट ५१, कोशी प्रदेशबाट १८ जना पक्राउ परेका थिए। चैत १९ गते कोशीबाट १, मधेसबाट ७, बागमतीबाट २३, गण्डकीबाट २ र कर्णालीबाट ११ जना नियन्त्रणमा लिइएका थिए।
यस्तै चैत २० गते मधेसबाट ८, गण्डकीबाट १०, लुम्बिनीबाट ४ र सुदूरपश्चिमबाट २ जना पक्राउ परेका थिए भने चैत २१ गते काठमाडौँ उपत्यकाबाट मात्रै ६२ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा गुण्डागर्दी, बिचौलिया गतिविधिमा संलग्न, यातायात तथा मालपोत कार्यालयमा सेवाग्राहीलाई दुःख दिने तथा सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्ने व्यक्तिहरू रहेका छन्।
प्रवक्ता काफ्लेले यस्ता गैरकानुनी गतिविधिविरुद्धको अभियान अझै निरन्तर रहने स्पष्ट पारे ।