बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काठमाडौंमा ‘अपरेसन सेफ्टी’: गुण्डागर्दी नियन्त्रण अभियानमा १७ जना पक्राउ

शनिबार, चैत्र २१ २०८२

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सक्रिय गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले विशेष अभियान सञ्चालन गर्दै १७ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त पहलमा ‘अपरेसन सेफ्टी काठमाडौं’ अन्तर्गत छुट्टाछुट्टै टोली परिचालन गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार ग्याङ निर्माणको प्रयाससहित आपराधिक गतिविधिमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा श्याम लामा समूहसँग आबद्ध प्रवीण तामाङ ‘डिम्पल’ रहेका छन्।

त्यस्तै, कलंकी–बाफल क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा बिरजू महर्जन पक्राउ परेका छन् भने सुजन कार्कीले बस टिकट काउन्टर र पेट्रोल पम्प आसपास आतंक मच्चाएको आरोप लागेको छ। स्युचाटार क्षेत्रमा ग्याङ बनाउन थालेको आरोपमा सुरु हमागाईं पनि प्रहरी नियन्त्रणमा छन्।

यसैगरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले थप १३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। एसएसपी सन्तोष खड्काका अनुसार ठमेल, दरबारमार्ग र सामाखुसी क्षेत्रमा सक्रिय गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई रातभर सञ्चालन गरिएको अपरेसनमार्फत पक्राउ गरिएको हो।

प्रहरीले यस्ता आपराधिक गतिविधिविरुद्ध अभियान निरन्तर जारी रहने जनाएको छ।