बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एकान्तकुनाबाट १५ बिचौलिया र सन नेपाल लाइफका सिइओ पनि नियन्त्रणमा

मंगलबार, चैत्र १७ २०८२

काठमाडौँ । जिल्ला प्रहरी परिसर ललितपुर ले यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जनालाई बिचौलियाको आरोपमा पक्राउ गरेको छ।

प्रहरीका अनुसार परिसर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको ‘स्विप अप्रेसन’ टोलीले ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती तथा अवरोध सिर्जना गर्ने गतिविधि बढेपछि कारबाही गरिएको जनाइएको छ। पक्राउ परेकाहरूलाई हाल प्रहरी वृत्त सातदोबाटोमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो ले सन नेपाल लाइफ इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललाई पनि पक्राउ गरेको छ।

ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार कर्मचारीलाई छुट्याइएको सेयर बाँडफाँटसम्बन्धी विवरण नियमनकारी निकायमा पेस गर्दा कम्पनीबाट प्राप्त सक्कल आवेदन फाराम र प्रतिलिपिबीच फरक विवरण भेटिएपछि अर्याललाई पक्राउ गरिएको हो।

उक्त कार्य धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०० विपरीत भएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका अर्यालमाथि थप अनुसन्धान जारी रहेको छ।