काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेसँगै तयारी प्रक्रिया अघि बढाइएको हो।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण तथा अद्यावधिकका लागि विशेष अभियान सञ्चालन गरिनेछ। यस क्रममा केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाइने र वितरणका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइनेछ।
वैशाख १ गतेदेखि मसान्तसम्म ६,७४३ वटै वडामा सदस्यता वितरण तथा अद्यावधिक गरिनेछ। सदस्यले आफू आबद्ध वडाबाटै सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ। वैशाख महिनाभरि वडास्तरमा एकमहिने अद्यावधिक अभियान सञ्चालन हुनेछ।
कार्यतालिकाअनुसार जिल्लास्तरीय प्रारम्भिक छानबिन समितिमा परेका उजुरीमाथि छानबिन गरी जेठ मसान्तसम्म केन्द्रमा पठाउनुपर्नेछ भने केन्द्रले असार १५ भित्र अन्तिम निर्णय गर्नेछ। अद्यावधिक सदस्यको नामावली असार मसान्तसम्म केन्द्रीय निर्वाचन समितिलाई बुझाइनेछ।
केन्द्रीय सभापतिबाट प्रमाणित अन्तिम सदस्यता सूची अधिवेशन प्रक्रिया सुरु हुनु अघि नै निर्वाचन समितिलाई उपलब्ध गराई प्रक्रिया अगाडि बढाइने निर्णय गरिएको छ।
अधिवेशन कार्यक्रमअनुसार भदौ २ गते वडा अधिवेशन सम्पन्न गरी क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ। त्यसपछि भदौ ७ गते गाउँ/नगरपालिका अधिवेशन, भदौ १७ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा एकमात्र क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन हुनेछ। साथै असोज २ र ३ गते जिल्ला अधिवेशन सम्पन्न गरी केन्द्रीय महाधिवेशनको तयारी पूरा गरिनेछ।
पार्टीले महाधिवेशनसँग सम्बन्धित अन्य कार्यक्रमसमेत तय गर्दै कुल १६ वटा निर्णय सार्वजनिक गरेको जनाएको छ।