शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी, अधिवेशन मिति प्रस्तावमाथि छलफल

बुधबार, चैत्र ११ २०८२

काठमाडौँ । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठक आज पनि बिहान ११ बजेदेखि बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार मंगलबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले पुरानै एजेन्डामाथि आफ्नो धारणा राख्ने क्रम निरन्तर रहेको छ ।

बैठकमा पार्टीका सभापति गगनकुमार थापा ले आगामी भदौ २४–२६ गते १५औँ महाधिवेशन गर्ने प्रस्तावित कार्यतालिका प्रस्तुत गरेपछि त्यस विषयमा केन्द्रित बहस जारी रहेको छ ।

यसका साथै समसामयिक राजनीतिक अवस्था, सुशासन स्थापना, संविधान संशोधनका लागि अध्ययन तथा सुझाव दिन विज्ञसहितको समिति गठन, र केन्द्रीय निर्वाचन समिति गठनजस्ता विषयहरूमा पनि छलफल हुने बताइएको छ ।

बैठकको सुरुवातमा सभापति थापाले मन्तव्य राखेका थिए भने महामन्त्री प्रदीप पौडेल ले ११ बुँदे एजेन्डा प्रस्तुत गरेका थिए । ती एजेन्डामाथि मंगलबार २८ जना केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् ।

धारणा राख्ने नेताहरूमा डा. गोपाल दहित, तारामान गुरुङ, मैकुलाल वाल्मिकी, अजयबाबु शिवाकोटी, भरतकुमार शाह, सुधीर शिवाकोटी, शम्भुलाल श्रेष्ठ, नरेन्द्रकुमार केरुङ, रेशमबहादुर बानियाँ, जीतनारायण श्रेष्ठ, रमेश धमलालगायत रहेका छन् ।

यस्तै, दीपकुमार श्रेष्ठ, बसन्त भट्टराई, जनकराज गिरी, शम्भुबहादुर बुढाथोकी, तीर्थजंग शाही, टेकराज पौडेल, केशवराज शर्मा आचार्य, रामबहादुर कार्की, नारायणप्रसाद भट्टराई, शिवबहादुर सुनारलगायतले पनि धारणा राखेका छन् ।

यसैगरी सूर्यबहादुर वि.क., दिनेश सुनार, छन्दबहादुर पहराई, जगदीशचन्द्र उपाध्याय, रामपल्टन साह तथा प्रदेश सभापतिहरू— कृष्णप्रसाद यादव (मधेश) र ईन्द्रबहादुर बानियाँ (बागमती) ले समेत आ–आफ्ना धारणा राखिसकेका छन् ।

बैठक आज पनि निरन्तर रहने र थप सदस्यहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको जनाइएको छ ।