काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ५ किलो २ सय २० ग्राम सहित भारतीय नागरिक ३८ वर्षीय यासीन सुभान कुईरेसी लाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला परेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
काठमाडौं महानगरपालिका–३२ नरेफाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २४ ग्राम सहित धनुषा विदेह नगरपालिका–२ घर भएका २८ वर्षीय सन्तोष झा लाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ४० मिलिग्राम र नगद २७ हजार १ सय रूपैयाँ सहित भारत सिट्टी बर्दाह–१३ बस्ने ३५ वर्षीया सल्मा खातुनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नुवाकोटको बिदुर नगरपालिका–१ त्रिशुलीबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम, नियन्त्रित लागूऔषध ट्रामोल १ हजार ६ सय ३२ ट्याब्लेट, नाईट्राभेट १ सय ३५ ट्याब्लेट र नगद ३९ हजार ६ सय रूपैयाँ सहित सोही नगरपालिका–१३ बस्ने १९ वर्षीय राजु तामाङ समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले बिदुर नगरपालिका–१ त्रिशुली बस्ने २८ वर्षीय प्रबेश तामाङको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार प्रबेशको खोजी गरिरहेको छ ।
कास्कीको पोखरा महानगरपालिका–२७ सैनिकबस्तीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ हजार ७ सय २१ एम्पुल, नोर्फिन ३ सय ७७ एम्पुल, फेनारगन ३ सय ३४ एम्पुल र नगद ९३ हजार ५ सय रूपैयाँ सहित सोही ठाउ बस्ने १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँकेको कोहलपुर नगरपालिका–१५ अक्कलघरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय अनिल थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको लागि उक्त लागूऔषध खरिद गर्न आएका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ भावर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका–१८ गाउँबेसी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष घर्ती मगर समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।