बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

देउवा दम्पत्ती ‘अलप’

मंगलबार, चैत्र ३ २०८२

काठमाडौं । भदौ २२ गतेसम्म पनि सत्ताको प्रमुख कसी र सदनको पहिलो दलको नेतृत्व गरिरहेका कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र सत्तामा हावी बनेकी उनी पत्नी आरजु राणा अहिले स्वदेशमा छैनन्।

देउवा सिंगापुर र राणा भारतमा रहेको विवरण आए पनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। यद्यपि उनीहरू बिस्तारै केन्द्रीय सत्ता राजनीतिको चर्चाबाट किनारा लागिसकेका छन्।

०७२ यता कांग्रेसको शीर्ष तह र देशको सत्ता राजनीतिमा एक दशक ‘राज’ गरेका दुवैको सान्दर्भिकता नेकपा एमालेसँगको साझेदारीका बेला भएको जेनजी विद्रोहबाट समाप्त बनेको छ।

यी दुवै शक्तिशाली दम्पत्ती जेनजी विद्रोहको भदौ २४ गतेका दिन घरबाट समयमा उद्दार हुन नसक्दा भौतिक आक्रमण परेका पीडित पनि हुन्।

यसलगत्तै विभिन्न चरणमा कांग्रेसमा नेतृत्व हस्तान्तरणको बहस हुँदा दम्पत्ती खासै खुलेका थिएनन् तर विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व र हुकुमी शासनबाट दुवै जना बर्खास्त गरिए।

फागुन २१ को निर्वाचनका निम्ति डडेल्धुरामा आजिवन चुनाव जितेका देउवाको उम्मेदवारी खोसियो भने राणालाई समानुपातिक सूचीमा समेत नराखिएपछि संसदीय राजनीतिबाट पनि अलग गरियो।

‘एक प्रकारको राजनीतिक दुखान्त नै मान्नुपर्छ। अहिले कतै नामो निसान नहुनेगरी एकाएक गुमनाम भएका छन्’, विश्लेषकहरू भन्छन्,‘झन् चुनावी परिणाम आएपछि राजनीति फरक कोर्समा पुगिसकेका कारण उनीहरुको सान्दर्भिकता पनि विस्तारै चर्चाका खातिर नहुने अवस्था आयो।’

विद्यार्थीकालिन राजनीतिबाट चर्चामा आएका देउवा सबैभन्दा बढी राजनीतिको केन्द्रमा रहेका थिए। गृहमन्त्री बनेका बेला राणासँग बिहे गरेको, राजाले पक्राउ गरी छानबिन गरेको, कांग्रेस विभाजन र एकता अनि सर्वकालिन रुपमा नेतृत्व लिएका कारण चर्चामा रहेका थिए।

अझ सत्ता राजनीतिमा देउवाले नचाहँदा पनि प्रधानमन्त्री बन्ने अवसर पाएको परिघटना धेरै बर्षअघिको हुँदै होइन। ‘उहाँले जेनजी विद्रोहको अघिल्लो दिन नै कांग्रेसलाई सरकारबाट फिर्ता बोलाएको भए अहिले राजनीतिको केन्द्रमा रहन सक्ने अवस्था हुन्थ्यो तर त्यसो नगरेका कारण कांग्रेसबाट नाता तोडाइयो अनि केन्द्रीय राजनीतिमा पनि प्रभाव भएन’, विश्लेषकहरु भन्छन्।

अहिले देउवा सिंगापुर र राणा भारतमा के गरिरहेका होलान्? कांग्रेस वृत्तमा चर्चा भए पनि देशको मूल राजनीतिले भने खासै चर्चा नगरेको पाइन्छ।