काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले श्रीराम ग्यास उद्योग को ललितपुरको हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिएको ६ हजार ३७७ ग्यास सिलिन्डर फेला पारेको छ।
विभागका अनुसार ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले ती सिलिन्डर भण्डारण गरेर राखिएको आशंका गरिएको छ। अनुगमन टोलीले गोदाममा १४.२ किलो तौलका ग्यास सिलिन्डरहरू भेटाएको जनाएको छ।
सिलिन्डर लुकाएर राखिएको पाइएपछि विभागले उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ। साथै, नेपाल आयल निगम को समन्वय र रोहबरमा ती ग्यास सिलिन्डर बिक्री–वितरण गर्न निर्देशन दिइएको छ।
विभागले ग्यासको माग उच्च रहेको अवस्थामा कृत्रिम अभाव सिर्जना नगर्न र वितरण प्रणाली सहज बनाउन उद्योगहरूलाई आग्रह गरेको छ। यसैबीच, मध्यपूर्वमा बढ्दो तनावका कारण आपूर्ति प्रभावित हुने आशंकामा उपभोक्ताले अत्यधिक भण्डारण गर्दा बजारमा ग्यास वितरणमा समस्या देखिएको निगमले जनाएको छ।