काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिलाई आधार मानेर नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको हो।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले वृद्धि गरिएको छ।
समायोजित नयाँ मूल्य गत राति १२ बजेदेखि लागू भएकाे छ ।
नयाँ मूल्य समायोजन अनुसार तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रति लिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।
त्यसैगरी दोस्रो वर्गका क्षेत्रहरू सुर्खेत र दाङमा पेट्रोल १७१ रुपैयाँ र डिजेल १५१ रुपैयाँ कायम गरिएको छ भने पहिलो वर्गका तराईका जिल्लाहरूमा पेट्रोल १६९.५० रुपैयाँ र डिजेल १४९.५० रुपैयाँमा बिक्री हुनेछ ।
यति ठूलो दरमा मूल्य वृद्धि गर्दा पनि निगमलाई पाक्षिक रूपमा करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।
विगतमा रसिया-युक्रेन युद्धका कारण इन्धनको बक्यौता रकम भुक्तानी गर्न नसक्दा आपूर्ति नै प्रभावित भएको अनुभवलाई स्मरण गर्दै निगमले हालको विषम परिस्थितिमा आपूर्ति प्रणालीलाई सहज बनाइराख्न मूल्य समायोजन अनिवार्य भएको स्पष्ट पारेको छ ।