शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

चितवन कारागारबाट भागेका १०० कैदीबन्दी अझै फरार

बिहिबार, फाल्गुन २८ २०८२

चितवन  । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये हालसम्म १०० जना अझै सम्पर्कमा नआएको कारागार प्रशासनले जनाएको छ।

कारागार कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार फरारमध्ये ११ जना भारतीय नागरिक रहेका छन्। भदौ २४ गते चार जना नाबालकसहित कुल ७४३ जना कैदीबन्दी कारागारबाट भागेका थिए।

तीमध्ये हालसम्म ६४३ जना फर्किसकेको जनाइएको छ। केही कैदीबन्दी आफैँ कारागारमा फर्किएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरी ल्याएको कारागार प्रशासनले जनाएको छ।

गम्भीर प्रकृतिका मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीसमेत फरार रहेकाले समुदायमा आपराधिक घटना हुन सक्ने चिन्ता बढेको कारागार प्रमुख ढुङ्गानाले बताए।

कारागार प्रशासनले गत असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि फरार कैदीबन्दीलाई आग्रह गरेको थियो। तोकिएको समयभित्र सम्पर्कमा नआए कारागार ऐन २०७९ तथा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

यसका साथै फरार कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाईसमेत कानुनअनुसार कसुरदार ठहर गरी कारबाही गरिने कारागार प्रशासनले जनाएको छ।

हाल चितवन कारागारमा ३८ जना महिलासहित ६८५ जना कैदीबन्दी रहेका छन्।