काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचन आयोग सिट बाँडफाँटको गृहकार्यमा जुटेको छ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार राजनीतिक दलहरूले प्राप्त गरेको सदर मतका आधारमा समानुपातिक सिट निर्धारण गर्ने प्रक्रिया अघि बढाइएको छ। सिट निर्धारण भएपछि सम्बन्धित दलहरूलाई समानुपातिकतर्फको बन्दसूचीमा रहेका नाममध्येबाट सांसद सिफारिश गर्न पत्राचार गरिनेछ।
यसका लागि राजनीतिक दलहरूलाई तीन दिनको समय दिने तयारी गरिएको आयोगले जनाएको छ। दलहरूले सिफारिश गरेर पठाएका नामहरू कानुनअनुसार मिलेको वा नमिलेको भनेर आयोगले पुनः परीक्षण गर्नेछ। त्यसपछि आयोगले समानुपातिकतर्फबाट निर्वाचित हुने ११० जना सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने प्रक्रिया अघि बढाउनेछ।
निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदहरूलाई प्रमाणपत्र दिएलगत्तै सम्पूर्ण निर्वाचन प्रक्रियासम्बन्धी प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेको जनाएको छ।
यसैबीच प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झण्डै दुई तिहाइको जनादेश प्राप्त गरेको देखिएको छ। प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपा समानुपातिक सिटसमेत जोड्दा दुई तिहाइको नजिक पुगेको हो।
२७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्छ। तर हालको मत परिणामलाई ‘सेन्ट लग फर्मुला’ अनुसार सिट बाँडफाँट गर्दा रास्वपाको कुल १८२ सिट पुग्ने देखिएको छ, जसले दुई तिहाइ बहुमतका लागि दुई सिट अपुग हुने देखिन्छ। यद्यपि आयोगले अन्तिम रूपमा सिट निर्धारण गरेपछि मात्र यकिन संख्या सार्वजनिक हुनेछ।
समानुपातिकतर्फ कुल एक करोड ७ लाख ६४ हजार ८८९ मतमध्ये रास्वपाले ५१ लाख ४६ हजार ६८१ मत प्राप्त गरेको छ, जुन कुल मतको करिब ४८ प्रतिशत हो।
समानुपातिकतर्फबाट सिट पाउनेमा छ वटा राजनीतिक दल रहने देखिएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले समानुपातिकमा २० सिट पाउने अनुमान गरिएको छ। कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ भने कुल ३८ सिट पुग्ने देखिएको छ। यो संख्या अघिल्लो निर्वाचनको तुलनामा उल्लेखनीय रूपमा कम हो, किनकि यसअघि कांग्रेससँग ८९ सिट थियो।
त्यस्तै नेकपा एमालेले समानुपातिकबाट १६ सिट पाउने देखिएको छ। प्रत्यक्षमा नौ सिट जितेको एमालेको कुल सिट संख्या २५ पुग्ने अनुमान गरिएको छ। अघिल्लो प्रतिनिधिसभामा एमालेसँग ७९ सिट थियो।
नेपाल कम्युनिष्ट पार्टीले समानुपातिकतर्फ नौ सिट पाउने देखिएको छ भने प्रत्यक्षमा आठ सिट जितेकाले प्रतिनिधिसभामा उसको कुल सिट १७ पुग्नेछ। सो पार्टीले समानुपातिकतर्फ आठ लाख आठ हजार ५८२ मत प्राप्त गरेको छ।
यस प्रतिनिधिसभामा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकमा चार/चार सिट पाउने देखिएको छ। श्रम संस्कृतिले प्रत्यक्षतर्फ तीन सिट जितेकाले उसको कुल सिट संख्या सात पुग्नेछ भने राप्रपाले प्रत्यक्षमा एक सिट जितेकाले कुल पाँच सिट हुनेछ।
श्रम संस्कृति पार्टी चार महिनाअघि मात्र गठन भएको नयाँ दल हो। यसपटकको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र सिके राउत नेतृत्वको जनमत पार्टीले भने कुनै सिट ल्याउन सकेनन्। समानुपातिकतर्फ पनि ती दलहरूले तीन प्रतिशत मतको थ्रेसहोल्ड पार गर्न सकेनन्।