बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सुर्खेत बालिका मृत्यु प्रकरणः दोषीलाई कडा कारबाही गर्न विभिन्न संघसंस्थाको माग

बिहिबार, फाल्गुन २८ २०८२

कर्णालीन । सुर्खेतको वीरेन्द्रनगरमा एक १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विभिन्न संघसंस्थाले दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतस्थित सहिद उद्यान नजिक जनजागरण सामुदायिक वन क्षेत्रमा उक्त घटना भएको बताइएको छ। घटनाले आफूहरू स्तब्ध बनेको जनाउँदै सुर्खेतका विभिन्न संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गरी निष्पक्ष छानबिन गर्दै दोषीलाई कानुनअनुसार कारबाही गर्न माग गरेका हुन्।

वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गरिएको घटना अमानवीय र निन्दनीय रहेको उल्लेख गर्दै विज्ञप्तिमा यस घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “महिला तथा बालिकामाथि हुने यौन हिंसा कुनै पनि बहानामा सह्य हुन सक्दैन। सुरक्षित, सभ्य र न्यायपूर्ण समाज निर्माणका लागि राज्यका निकाय, नागरिक समाज र आम नागरिक सबैको साझा प्रतिबद्धता र सक्रिय भूमिका आवश्यक छ।” साथै महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा अपराध रोकथामका लागि प्रभावकारी सुरक्षा व्यवस्था, निगरानी र सचेतनामूलक कार्यक्रमलाई थप सुदृढ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

मानवअधिकार रक्षक सञ्जाल कर्णाली र सुर्खेत, इन्सेक, दलित गैसस महासङ्घ, नवज्योति केन्द्र, एड्भोकेसी फोरम, सिएमसी, महिला मानवअधिकार रक्षक सञ्जाल, आवाज, दलित सेवा सङ्घ, दलित महिला सङ्घ, वाम, सोसेक तथा मानवअधिकारका लागि महिला एकल महिला समूह सुर्खेतले संयुक्त रूपमा विज्ञप्तिमा हस्ताक्षर गर्दै घटनाको सत्यतथ्य छानबिन गरी पीडित परिवारलाई न्याय दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सामाजिक सञ्जालमार्फत पीडित परिवारलाई भेटेर घटनाको निष्पक्ष र कानुनी ढंगले छानबिन हुने विश्वास दिलाइएको बताएका छन्। उनले सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीलाई कानुनअनुसार कारबाही गर्ने प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अघि बढाउने तथा पीडित परिवारलाई न्याय दिलाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार पीडित पक्षले फागुन २४ गते दिएको उजुरीका आधारमा प्रहरीले वीरेन्द्रनगरबाट चार जनालाई मंगलबार पक्राउ गरी अनुसन्धान थालेको छ। पक्राउ परेका चार जनामाथि जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हालसम्म मृतकका परिवारजनले शव बुझेका छैनन्। घटनाबारे थप अनुसन्धानका लागि भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शव परीक्षण गरी प्रतिवेदन दिएको छ। प्रतिवेदनमा जबर्जस्ती करणीका क्रममा मृतकको संवेदनशील अंगमा गम्भीर चोट लागी अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख गरिएको छ।

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीया इनिशा उषा बालवाटिका स्कुल सुर्खेतमा कक्षा ११ मा अध्ययनरत थिइन्। परिवारका अनुसार उनी शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्।

तर बिहान करिब ९ बजे स्थानीयले उनलाई जनजागरण सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा फेला पारेका थिए। प्रहरीले उनलाई प्रदेश अस्पताल सुर्खेत कालागाउँ पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकका आफन्तले फागुन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।