बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

माधव जत्तिको रहेन ओलीको नैतिकता

बुधबार, फाल्गुन २७ २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले राजनीतिक नैतिकता देखाउन ढिलाई गरेका छन्।

आम निर्वाचनमा पार्टीको पहिलो अवस्थाबाट खस्किएर शर्मनाक अवस्था हुँदा पनि राजीनामा दिन ढिलाई गरेको एमाले नेताहरुले नै बताएका छन्।

जिल्ला तहका नेताले जिल्लामा भएको क्षतिको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिँदा निर्वाचन जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बधाई दिए पनि ओली र पोखरेलले राजीनामा दिएका छैनन्।

उनीहरु दुवै जनाले रास्वपा बरिष्ठ नेता बालेन शाहलाई भने बधाई दिएका छन्।

तर पार्टीको शर्मनाक पराजय हुँदा १८ बर्षअघि तत्कालिन एमाले महासचिव माधवकुमार नेपालले राजीनामा दिएका थिए। तत्कालिन नेकपा माओवादीको वर्चश्व हुनेगरी संविधान सभामा एमाले जम्मा ३३ सिटमा मात्र खुम्चिँदा नेपालले राजीनामा दिएका थिए।

०६४ चैतमा भएको संविधान सभा निर्वाचनमा एमाले तेस्रो दल बन्दा निक्कै कम मात्र जनमत ल्याएको थियो। ६०१ सदस्यमा उसको पक्षमा ३३ सिट मात्र आएको थियो।

यो नैतिकता ओली र पोखरेलले देखाउन सकेका छैनन्। तर, एक जिल्ला अध्यक्षसहितका तल्ला तहका नेताले पनि नैतिकता देखाउन थालेका छन्।

प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेकपा एमालेले भोगेको अनपेक्षित पराजयपछि पार्टीभित्र नतिजाको जिम्मेवारी लिने र नेतृत्वलाई दबाब दिने क्रम सुरु भएको छ। यसै सन्दर्भमा नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा घोषणा गरेका छन्।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पोखरेलले जनमतको कदर र पार्टीको खराब नतिजाको नैतिक जिम्मेवारी लिँदै आजकै मितिदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। उनले पार्टीको केन्द्रीय नेतृत्वलाई समेत जिम्मेवारी लिएर राजीनामा दिन र पार्टी पुनर्गठनको बाटो खुला गर्न सार्वजनिक चुनौती दिएका छन्।