काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले गुल्मी–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर ढकाललाई अग्रिम बधाई तथा शुभकामना दिएका छन्।
प्रतिनिधिसभा सदस्य पदका लागि गुल्मी–१ बाट उम्मेदवारी दिएका ज्ञवालीले मतगणना अन्तिम चरणतिर पुग्दा आफू पराजित हुने निश्चित भएपछि सामाजिक सञ्जालमार्फत ढकाललाई बधाई दिएका हुन्।
फेसबुकमा उनले लेखेका छन्, “गुल्मी–१ को मतगणना उत्तरार्धतिर पुग्दैछ। विजयोन्मुख सागर ढकाल र रास्वपालाई अग्रिम बधाई।”
ज्ञवालीले निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सहयोग गर्ने मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा कर्मचारीहरूलाई पनि धन्यवाद दिएका छन्।
परिणामप्रति टिप्पणी गर्दै उनले यस्तो नतिजाको अपेक्षा नगरेको बताए पनि लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने भएकाले त्यसप्रति सम्मान व्यक्त गरेका छन्। “यस्तो परिणामको अपेक्षा थिएन। तर लोकतन्त्रमा जनताको फैसला सर्वोपरि हुन्छ। त्यसैले जनादेशप्रति सम्मान छ,” उनले उल्लेख गरेका छन्।