शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

७७ जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय

बुधबार, फाल्गुन २० २०८२

काठमाडौं । गृह मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बुधबार मन्त्रालयमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग गरिएको भर्चुअल बैठक (जुम मिटिङ) मार्फत निर्वाचन सुरक्षासहित सबै व्यवस्थापकीय कामहरूको समीक्षा गरिएको हो।

गृह मन्त्रालय का सचिव राजकुमार श्रेष्ठ को अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बैठकमा भाग लिए।

मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्य का अनुसार करिब तीन घण्टा चलेको बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन, कर्मचारी परिचालन, मतदान सामग्री वितरण लगायतका विषयमा केन्द्रित छलफल भएको थियो। बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निर्वाचन तयारी पूर्ण भएको र सुरक्षा अवस्था सामान्य रहेको जानकारी दिएका थिए।

बैठकमा जिल्लाको सुरक्षा, शान्ति व्यवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र समन्वयका विषयमा समीक्षा गरी आगामी रणनीति बनाउने समझदारी पनि कायम भएको जनाइएको छ। गृह सचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई प्रभावकारी र मजबुत बनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन्।

साथै, सबै जिल्ला प्रमुखहरूले कर्मचारी सुरक्षा संयन्त्र र मतदान सामग्री मतदान स्थलमा समयमै पुगेको जानकारी प्रदान गरेका छन्।