बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निर्वाचनविरोधी गतिविधिमा १७६ जना पक्राउ, देशभर सुरक्षा कडा

बुधबार, फाल्गुन २० २०८२

काठमाडौँ । देशभर निर्वाचनविरोधी गतिविधिमा संलग्न १७६ जनालाई पक्राउ गरिएको छ।

प्रहरी प्रधान कार्यालय ले दिएको जानकारीअनुसार निर्वाचनविरोधी गतिविधि, ‘मिस इन्फरमेसन’ तथा ‘डिस इन्फरमेसन’ फैलाउने, सवारीसाधनमा आगजनी गर्ने लगायतका कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

नेपाल प्रहरी का केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले काठमाडौँमा राति दुई वटा सवारीसाधन जलाइएको घटना बाहेक निर्वाचनसँग सम्बन्धित अन्य गम्भीर प्रकृतिका घटना नभएको जानकारी दिए। उनका अनुसार देशभर सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ।

प्रवक्ता काफ्लेले सबै मतदानस्थलमा प्रहरी परिचालन भइसकेको र जिल्लास्थित मतदान केन्द्रहरूमा सर्वदलीय तथा सर्वपक्षीय बैठकमार्फत सुरक्षा समन्वय सुदृढ गरिएको बताए । मोबाइल तथा रिजर्भ टोली अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै उच्च मनोबलका साथ खटिएको उनको भनाइ छ। साथै, प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग तथा मौन अवधि उल्लङ्घन गर्ने व्यक्तिहरूलाई पहिचान गरी निगरानी र नियन्त्रणको कार्य भइरहेको जनाइएको छ।

यसैबीच, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले केन्द्रीय निर्वाचन सेलको अनुगमन गर्दै मौन अवधिमा सीमा सुरक्षा कडा पार्न र सतर्कता बढाउन मातहतका निकायलाई निर्देशन दिए।

मंगलबार देशका विभिन्न स्थानमा त्रास सिर्जना गर्ने उद्देश्यले राखिएका पाँचवटा नक्कली शंकास्पद वस्तु फेला परेका र नेपाली सेनाले ती निष्क्रिय पारेको प्रहरीले जनाएको छ।