शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कांग्रेसले देश सम्हाल्छ र अवस्था सुधार्छ : गगन थापा

बुधबार, फाल्गुन १३ २०८२

धनकौल । नेपाली कांग्रेस का सभापति गगनकुमार थापाले आफ्नो पार्टी देश सम्हाल्ने स्पष्ट सोच र योजनासहित चुनावी मैदानमा आएको बताएका छन्।

सर्लाही निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत बलरा नगरपालिकाको मिर्जापुरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले विगतका अनुभवलाई उपयोग गरेर जनअपेक्षाअनुसार देशको अवस्था सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

सभापति थापाले सर्लाही–४ का लागि सार्वजनिक गरिएको प्रतिज्ञापत्रअन्तर्गत ‘जनता दलान’ कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष सम्पर्कमा रहने जानकारी दिए। “मेरो कार्यालय यहीँ रहनेछ। यहाँका मतदाताले मलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ। म प्रत्येक महिनाको दुई दिन यहाँ आएर जनतासँग छलफल गर्नेछु,” उनले भने। उनले आफू क्षेत्रको “बेटा” भएर आएको उल्लेख गर्दै आगामी पाँच वर्ष जनताले गर्व गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए।

मधेसको नेतृत्वबाटै राष्ट्रिय नेतृत्वतर्फ अघि बढ्ने सोचसहित सर्लाहीबाट उम्मेदवारी दिएको स्पष्ट पार्दै उनले यस क्षेत्रमा देखिएका धेरै समस्या एक वर्षभित्र न्यूनीकरण गर्ने दाबी गरे।

“मैले असल नियतले चुनौती दिएको हुँ,” उनले भने, “मधेसका ३२ क्षेत्रमा एक वर्षमा हुने कामको मूल्याङ्कन गर्दा मेरो अङ्क बढी आउँछ।” सबै निर्वाचित प्रतिनिधिले आ–आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य र जनसेवाका काम प्रभावकारी रूपमा गर्न सके गुनासो क्रमशः कम हुँदै जाने उनको भनाइ थियो।