बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

निर्वाचन सुरक्षा सुदृढ पार्न सरकारको निर्णय, असहिष्णुताप्रति कडाइ

आइतबार, फाल्गुन १० २०८२

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ।

केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकले विद्यमान सुरक्षा अवस्थाको समीक्षा गर्दै निर्वाचन सुरक्षालाई अझ मजबुद बनाउने निष्कर्ष निकालेको हो। बैठकमा निर्वाचन सुरक्षासम्बन्धी तयारी र व्यवस्थापनबारे विस्तृत छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

उनका अनुसार निर्वाचन प्रयोजनका लागि तयार पारिएको एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सबै सुरक्षा निकायले कार्य गरिरहेका छन्। सोही योजनाअनुरूप कर्मचारी परिचालन, सुरक्षा व्यवस्थापन तथा समन्वय भइरहेको सुरक्षा निकायका प्रमुखहरूले बैठकमा जानकारी गराएका थिए।

यसैबीच, गृह मन्त्रालयले धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावमा असर पार्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। केन्द्रीय सुरक्षा समितिको बैठकपछि जारी प्रेस विज्ञप्तिमा विभिन्न धर्म, जातजाति, वर्ग, क्षेत्र वा समुदायबीचको सम्बन्धमा खलल पुर्याउने, हिंसात्मक गतिविधि गर्न उक्साउने, घृणा वा द्वेष फैलाउने कार्य कानुनद्वारा दण्डनीय रहेको स्पष्ट पारिएको छ।

मन्त्रालयले यस्ता गतिविधिमाथि सूक्ष्म निगरानी गरिरहेको र कानुनले निषेध गरेका कार्यमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याई कारबाही भइरहेको जनाएको छ। साथै आगामी दिनमा यस्ता क्रियाकलाप नगर्न–नगराउन र सबै धर्म तथा समुदायबीच धार्मिक सहिष्णुता र आपसी सम्मान कायम गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा रौतहट, दाङलगायत तराई तथा मधेसका केही जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव खल्बल्याउने, सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड गर्ने, राजनीतिक दलका झण्डा जलाउनेजस्ता घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। मन्त्रालयले सामाजिक सद्भाव र मर्यादामा आँच पुग्ने यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा संयन्त्र सक्रिय रूपमा परिचालित रहेको जनाएको छ।