काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज, सुदृढ र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् ।
भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना–मझौला उद्योगका लागि वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण आवश्यक रहेको बताए ।
उनले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार तथा प्रमुख लगानीस्रोत रहेको उल्लेख गर्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुई देशबीचको साझेदारीलाई विशेष बनाएको धारणा व्यक्त गर्नुभयो। विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र आपूर्ति शृङ्खलामा आएको अवरोधको सन्दर्भमा छिमेकी राष्ट्रबीचको सहकार्य अझ महत्वपूर्ण हुने उनको भनाइ थियो।
भारतले हालै सार्वजनिक गरेको केन्द्रीय बजेटले पूर्वाधार, डिजिटल कनेक्टिभिटी, हरित ऊर्जा र साना–मझौला उद्योग प्रवर्द्धनलाई प्राथमिकता दिएको उल्लेख गर्दै त्यसले नेपालका लागि समेत नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
ऊर्जा क्षेत्रतर्फ नेपाल जलविद्युत्मा समृद्ध रहेको र भारततर्फ विद्युत् निर्यात सुरु भइसकेको जानकारी दिँदै अध्यक्ष ढकालले पर्याप्त प्रसारण लाइन र नीतिगत स्थायित्व सुनिश्चित भएमा नेपाल भारतको विश्वासिलो हरित ऊर्जा साझेदार बन्न सक्ने बताए ।
पर्यटन क्षेत्रबारे बोल्दै उनले नेपालका प्राकृतिक, साहसिक तथा आध्यात्मिक गन्तव्यले अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गरिरहेको उल्लेख गर्नुभयो। होटल, रिसोर्ट र केबलकार परियोजनामा लगानीका अवसर विस्तार भइरहेको जानकारी दिँदै भारतीय लगानीकर्तालाई ऊर्जा, पर्यटन, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सीमापार लजिस्टिक्स, कृषि प्रशोधन, औषधि उद्योग, शिक्षा र स्वास्थ्य सेवामा लगानी गर्न आह्वान गरे ।
नेपालको निजी क्षेत्र सधैँ राजनीतिक स्थायित्व र आर्थिक अनुशासनको पक्षमा रहेको उल्लेख गर्दै उनले लगानीकर्ताको दीर्घकालीन विश्वास कायम राख्न नीतिगत सुधारहरू अघि बढाइएको पनि स्पष्ट पारे ।
अध्यक्ष ढकालका अनुसार इन्डो–नेपाल व्यापार महोत्सव केवल औपचारिक कार्यक्रम नभई सद्भावनालाई व्यावसायिक साझेदारीमा रूपान्तरण गर्ने प्रभावकारी मञ्च हो। हरित ऊर्जा, डिजिटल सेवा, पर्यटन र उत्पादन क्षेत्रमा ठोस सहकार्य अघि बढाउन उहाँले भारतीय उद्योगी–व्यवसायी र लगानीकर्तालाई आग्रह गरे ।