काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयवस्तुबारे खुला प्रश्नोत्तर कार्यक्रम आयोजना गर्ने भएको छ। बुधबार मधेशको राजधानी जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञापत्रबारे विस्तृत जानकारी दिन पार्टीले ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ शीर्षकमा विशेष कार्यक्रम राखेको हो।
कार्यक्रम आज दिउँसो १ बजेदेखि काठमाडौँस्थित राष्ट्रिय सभा गृह मा सञ्चालन हुनेछ। कार्यक्रममा पार्टी सभापति गगनकुमार थापा ले प्रतिज्ञापत्रका मुख्य बुँदाबारे संक्षेपमा प्रस्तुति दिँदै देश–विदेशबाट आएका प्रश्नको प्रत्यक्ष जवाफ दिनेछन्।
पार्टीका प्रवक्ता देवराज चालिसे का अनुसार सभापति थापाले ठूलो एलइडी स्क्रिनमार्फत प्रतिज्ञापत्रको सार सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। प्रविधिको प्रयोग गरी विश्वका विभिन्न स्थानबाट प्रत्यक्ष रूपमा प्रश्न सोध्न सकिने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
कार्यक्रमस्थलमा उपस्थित सहभागीहरूबाट पनि प्रत्यक्ष प्रश्न लिइने र त्यसको जवाफ सभापतिले दिने व्यवस्था गरिएको छ। कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने लक्ष्यसहित आगामी पाँच वर्षका योजना र कार्यक्रमको खाका प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरिसकेको छ।