शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

जनकपुरधामबाट आज कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक हुँदै

बुधबार, फाल्गुन ६ २०८२

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तयार पारेको चुनावी घोषणापत्र आज जनकपुरधामबाट सार्वजनिक गर्ने भएको छ। मधेशकेन्द्रित शक्ति प्रदर्शनसहित घोषणापत्र सार्वजनिक गर्न लागिएको जनाइएको छ।

मधेश प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंगलबार पत्रकार सम्मेलनमार्फत चुनावी सभाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार मधेशका आठवटै जिल्लामा नेता–कार्यकर्तालाई सक्रिय रूपमा परिचालन गरिएको छ र कम्तीमा एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।

सभामा पार्टी सभापति गगन थापासहित शीर्ष नेतृत्वको उपस्थिति रहने जनाइएको छ। केन्द्रीय नेतृत्वको सहभागिताले मधेशमा कांग्रेसको चुनावी अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ।

सार्वजनिक गरिने घोषणापत्रमा मधेशको आर्थिक–सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राखिएको दाबी गरिएको छ। रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सिँचाइ तथा भण्डारण पूर्वाधार विस्तार, शिक्षा–स्वास्थ्य सेवाको गुणस्तर सुधार, सडक तथा अन्य संरचना निर्माण, लगानीमैत्री वातावरण र सुशासनलाई मुख्य एजेन्डा बनाइएको बताइएको छ।

मुख्यमन्त्री यादवले मधेशमा बढ्दो बेरोजगारी, कृषि उत्पादनको स्थिर अवस्था तथा आधारभूत सेवाको कमजोर प्रवाहलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम तयार गरिएको स्पष्ट पारे। मधेशको आर्थिक रूपान्तरणबिना राष्ट्रिय समृद्धि सम्भव नहुने दृष्टिकोणका साथ घोषणापत्र निर्माण गरिएको उनको भनाइ छ।

सभास्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ भने बाहिरी जिल्लाबाट आउने सहभागीका लागि यातायात तथा अन्य व्यवस्थापनसम्बन्धी तयारीसमेत पूरा गरिएको आयोजकले जनाएको छ।