बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा नेपालको निर्वाचन सफलताको शुभकामना

बुधबार, फाल्गुन ६ २०८२

काठमाडौँ । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

ढाकास्थित नेपाली राजदूतावासका अनुसार मङ्गलबार साँझ परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री रहमानले नेपालमा हुन लागेको संसदीय निर्वाचनको सफलताको कामना गरेका हुन्।

सो अवसरमा मन्त्री शर्माले प्रधानमन्त्री रहमानलाई बधाई दिँदै नेपालका प्रधानमन्त्री सुशीला कार्कीले पठाएको बधाई सन्देश हस्तान्तरण गरेका थिए। सन्देशमा प्रधानमन्त्री कार्कीले दुवै देश र जनताका साझा हितका लागि आपसी सम्मान र साझेदारीको भावनाका साथ सहकार्य गर्ने इच्छा व्यक्त गरेको उल्लेख छ।

दूतावासका अनुसार मन्त्री शर्माले बङ्गलादेशमा लोकतान्त्रिक प्रक्रियामार्फत सफलतापूर्वक निर्वाचन सम्पन्न गरी सहज सत्ता हस्तान्तरण सुनिश्चित गरेकोमा सराहना गर्दै रहमान नेतृत्वको बङ्गलादेश नेशनलिस्ट पार्टीले बहुमत प्राप्त गरेकोमा बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री रहमानले शपथग्रहण समारोहमा सहभागी भएकोमा मन्त्री शर्मालाई धन्यवाद दिँदै यसले नेपाल सरकार र जनताका तर्फबाट बङ्गलादेशप्रति देखाइएको सद्भाव र एकता झल्काएको बताएका छन् ।

भेटका क्रममा दुवै पक्षले नेपाल–बङ्गलादेशबीचको दिगो साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा तथा पर्यटनलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका थिए।

परराष्ट्रमन्त्री शर्मा प्रधानमन्त्री रहमानको शपथग्रहण समारोहमा सहभागी हुन गत सोमबार ढाका प्रस्थान गरेकाे र उनी बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ।