काठमाडौं । टी–२० विश्वकपअन्तर्गत जारी खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनायो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ४७ बलमा ५८ रन बनाउँदै टोलीको स्कोर प्रतिस्पर्धात्मक बनाए। टी–२० विश्वकपमा अर्धशतक बनाउने उनी दोस्रो नेपाली खेलाडी बनेका छन्। यसअघि सुवास खकुरेलले सन् २०१४ संस्करणमा अर्धशतक बनाएका थिए।
त्यस्तै सोमपाल कामी २६ रनमा अविजित रहे। लोकेश बम (१३), आसिफ शेख (११), गुलशन झा (११), रोहित पौडेल (५), आरिफ शेख (२) र कुशल भुर्तेल (१) ले योगदान दिए।
बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले चार विकेट लिए। अकिल हुसेन, म्याथ्यु फोर्डे, समर जोसेफ र रोस्टन चेजले एक–एक विकेट हात पारे।
यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। यसअघिका दुई खेल गुमाएको नेपाल आज पराजित भए सुपर एटको होडबाट एक खेल अगावै बाहिरिनेछ। उता दुई खेल जितिसकेको वेस्ट इन्डिजले आज जित निकालेमा एक खेल बाँकी रहँदै सुपर एटमा स्थान सुरक्षित गर्नेछ।