बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निर्वाचन १९ दिन बाँकी: अब १४ जिल्लाको मतपत्र छपाइ मात्र

शनिबार, फाल्गुन २ २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेको छ भने अब काठमाडौँ उपत्यका आसपासका १४ जिल्लाको मात्रै मतपत्र छपाइ बाँकी रहेको छ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार हालसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ।

अधिकांश जिल्लाको छपाइ सम्पन्न

आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी र डडेल्धुरासहित विभिन्न दुर्गम जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको छ।

त्यसैगरी दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, नवलपरासी (बर्दघाट सुस्तापश्चिम), मोरङलगायतका जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ।

उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुमपूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, दोलखा, नुवाकोट र काभ्रेपलाञ्चोकसहित ६३ जिल्लाको छपाइ कार्य सकिएको आयोगले जनाएको छ।

तीन दिनभित्र छपाइ सकिने अनुमान

अब बाँकी १४ जिल्लाको मतपत्र छपाइ तीन दिनभित्र सम्पन्न हुने अनुमान गरिएको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो। छापिएका जिल्लाका मतपत्र प्याकिङ भइसकेको छ भने हालसम्म १५ हजार ३७१ बाकस मतपत्र प्याकिङ गरिएको छ। दैनिक करिब एक हजार बाकस प्याकिङ तथा ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ।

ढुवानी कार्य सुरु

छपाइ सम्पन्न भएका मतपत्र आजदेखि कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा पठाउन सुरु गरिएको छ। सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सुरु भएको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिए ।

मतपत्र छपाइ कार्य गत पुस २२ गतेदेखि सुरु भएको हो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छापी सम्बन्धित जिल्लामा पठाइसकिएको छ भने दोस्रो चरणमा दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ र रुजुसहित ढुवानीका लागि तयारी गरिएको आयोगले जनाएको छ। प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगको लक्ष्य रहेको छ।