बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रियसभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस हुँदै

शुक्रबार, फाल्गुन १ २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ पेस गर्ने भएकी छन्। संसद् सचिवालयका अनुसार मध्याह्न १२ः१५ बजे बस्ने बैठकमा उक्त प्रतिवेदन सम्भावित कार्यसूचीमा समावेश गरिएको छ।

बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय एकाइहरूबीच विधायिकी अन्तर–सम्बन्ध अध्ययन प्रतिवेदन, २०८२’ तथा ‘बालबालिकासम्बन्धी ऐन, २०७५ मा रहेका बालसहभागितासम्बन्धी प्रावधानहरूको कार्यान्वयन मापन प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरू सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका छन्।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ। साथै, उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रबारे पनि सभालाई जानकारी गराएका छन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (३) बमोजिम मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसमा आज राति १२ः०० बजेदेखि लागू हुनेगरी राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।