शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रचण्डले भने : देशकाे वर्तमान संकट समाधानका लागि राष्ट्रिय शक्ति एकजुट होऔँ

शुक्रबार, फाल्गुन १ २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएको वर्तमान संकट समाधानका लागि सबै राष्ट्रिय शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन्।

‘जनयुद्ध दिवस’का अवसरमा शुभकामना सन्देश दिँदै उनले फागुन २१ गतेको निर्वाचनमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रा सुरु गर्नु अपरिहार्य रहेको धारणा राखेका हुन् ।

रुकुममा रहेका प्रचण्डले सहिदका सपना साकार पार्ने जिम्मेवारी आफूहरूमा रहेको उल्लेख गर्दै रुकुम, रोल्पाजस्ता केन्द्रीय आधार इलाकाले विगतमा खेलेको भूमिकालाई पुनः देशव्यापी रूपमा स्थापित गर्नुपर्ने बताए। “नयाँ समाजवादी अभियान अगाडि बढाउने संकल्पका साथ म रुकुम आएको छु,” उनले भने।

हाल देशको परिस्थिति नयाँ मोडमा पुगेको उल्लेख गर्दै दाहालले जेन–जी आन्दोलन र त्यसपछिका घटनाक्रमले राष्ट्रलाई अप्ठ्यारो अवस्थामा पुर्‍याएको टिप्पणी गरे। “यस्तो अवस्थामा हामी जनयुद्ध दिवस मनाइरहेका छौँ। मेरो लागि यो गर्वको विषय पनि हो र ठूलो जिम्मेवारी पनि,” उनले भने।

रुकुमपूर्वबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारको हैसियतले जनयुद्ध दिवस मनाउन पाउँदा विशेष अर्थ राख्ने उनले बताए।