रुकुमपूर्व । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ३०औँ जनयुद्ध दिवस रुकुमपूर्वमा मनाउँदै छ। जनयुद्धको सुरुआतस्थल मानिने यस जिल्लामा सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र स्थानीयसँग कार्यक्रम आयोजना गरिएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ रुकुमपूर्व पुगेका छन् ।
विसं २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको जनयुद्ध दश वर्षसम्म चलेको थियो। जनयुद्धका प्रमुख नेता प्रचण्ड पहिलोपटक रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउन आएका हुन्। सङ्घीयतापछि बनेको कान्छो जिल्ला रुकुमपूर्वबाट उनी प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत छन् ।
भूमे गाउँपालिका–२ खाबाङ बगरमा आयोजना हुने कार्यक्रममा सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको नेकपा रुकुमले जनाएको छ। रुकुमपूर्वमा २५२ जना सहिद रहेको उल्लेख गरिएको छ।
क्रान्ति र शान्तिको सुरुआतस्थल
राजतन्त्रको अन्त्य र नयाँ जनवादी व्यवस्था स्थापनाको उद्देश्यसहित २०५२ फागुन १ गते जनयुद्ध सुरु भएको थियो। रुकुम, रोल्पा, सिन्धुली र गोरखाका विभिन्न सुरक्षा चौकी तथा संरचनामाथि आक्रमणबाट सशस्त्र आन्दोलनको सुरुआत गरिएको थियो।
जनयुद्ध अगाडि बढाउन रुकुम (पूर्व र पश्चिम) तथा रोल्पालाई आधार इलाका बनाइएको थियो। रुकुमपूर्वमा रहेका प्रहरी कार्यालयहरूमाथि चरणबद्ध आक्रमण गर्दै माओवादीले प्रभाव विस्तार गरेको थियो।
विसं २०५३ वैशाख २३ मा छेरावाङमा पहिलो एम्बुस आक्रमण गरिएको थियो भने २०५४ माघ १६ गते क्युवाङमा थ्रीनट राइफल कब्जा गरिएको थियो। २०५६ असोज ५ मा महत क्षेत्रमा आक्रमण गरी प्रहरी नायब उपरीक्षक ठूले राईलाई नियन्त्रणमा लिइएको थियो।
२०५७ चैतमा रुकुमकोट चौकी आक्रमणमा ४० जनाको ज्यान गएको थियो।
पछिल्ला वर्षहरूमा रुकुमकै लाबाङ र चुनवाङमा बसेका बैठकहरूले राजनीतिक कार्यदिशा परिवर्तन गर्दै शान्तिपूर्ण राजनीतिक यात्रातर्फ मोड लिएको थियो। २०६२ असोजमा चुनवाङ बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गरेको थियो, जसले सात दलसँगको १२ बुँदे सहमति र त्यसपछिको जनआन्दोलनमार्फत राजतन्त्र अन्त्य र गणतन्त्र स्थापना गर्ने आधार तयार गर्यो।
आज जनयुद्ध दिवसको अवसरमा संयोजक प्रचण्डले महतगाउँ, लाबाङ र चुनवाङलगायत स्थानको भ्रमण गरी जनभेटघाट गर्ने कार्यक्रम रहेको छ।