ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा ताप्लेजुङमा चुनावी गतिविधि तीव्र बनेको छ। यहाँ १३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकाले गाउँबस्तीमा घरदैलो अभियान व्यापक रूपमा सञ्चालन भइरहेको छ।
नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत विभिन्न दलका उम्मेदवार मतदातासँग प्रत्यक्ष भेटघाटमा सक्रिय छन्।
कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङ, नेकपा (एमाले)का क्षितिज थेबे, नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्री, रास्वपाका वीरेन्द्र श्रेष्ठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रप्रसाद थापा कार्यकर्तासहित घरदैलो अभियानमा जुटेका छन्।
त्यसैगरी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लाबुङ, नेपाल जनमुक्ति पार्टीका इन्द्रकुमार लिम्बू, श्रम संस्कृति पार्टीका सन्तोष राई, जनता समाजवादी पार्टीका अरुण सुब्बा, जनता समाजवादी पार्टी नेपालका सूर्य गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का नरपती पौडेल, उज्यालो नेपाल पार्टीका कृतिमान मादेन तथा मङ्गल नेसनल अर्गनाइजेसनका सन्तबहादुर लिम्बू पनि मत माग्दै गाउँ–गाउँमा पुगिरहेका छन्।
घरदैलोका क्रममा मतदाताले सडक, खानेपानी, स्वास्थ्य सेवा, शिक्षा तथा रोजगारीका विषयलाई प्राथमिकताका साथ उठाएका छन्। उम्मेदवारहरूले स्थानीय विकास र आधारभूत सेवा सुधारलाई मुख्य एजेन्डा बनाउँदै मत मागिरहेका छन्।