शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

ग्यास आपूर्ति सहज बनाउन विभागको कडाइ, ढुवानी व्यवस्थापन प्रभावकारी बनाइने

बुधबार, माघ २८ २०८२

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको समस्या समाधान गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापन प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गर्ने निर्णय गरेको छ।

पछिल्ला दिनमा ग्यास वितरणमा अवरोध आएपछि उपभोक्ताले सास्ती भोग्नुपरेको भन्दै विभागले नेपाल आयल निगमलाई ढुवानी व्यवस्थापन सुदृढ बनाउन आवश्यक पहल गर्न आग्रह गरेको जनाएको छ। साथै, ठूला ग्यास उत्पादन कम्पनीहरूलाई समेत उत्पादन र वितरणमा ढिलाइ नगर्न निर्देशन दिइएको छ।

काठमाडौँ उपत्यकाका ग्यास बोटलिङ उद्योगहरूको अनुगमनका क्रममा उपभोक्ताको मागअनुसार उत्पादन तथा वितरण बढाउन विभागले स्पष्ट निर्देशन दिएको छ। उद्योगहरूलाई पूर्ण क्षमतामा ग्यास आपूर्ति गरी उत्पादन वृद्धि गर्न भनिएको छ।

एलपी ग्यास वितरण गर्ने डिलर, रिटेलर तथा सप्लायर्स कम्पनीहरूलाई उपभोक्ताको मागको अभिलेख व्यवस्थित राख्दै अनावश्यक सञ्चय रोक्न र समन्यायिक रूपमा वितरण गर्न निर्देशन दिइएको छ।

विभागले उपभोक्ता तथा व्यावसायिक प्रतिष्ठानहरूलाई पनि आवश्यक परिमाणभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेको छ।

बजारमा ग्यासको उपलब्धता, भण्डारण र वितरण अवस्थाबारे उद्योग, ठूला सप्लायर्स र साना डिलर स्तरसम्म आपूर्ति शृङ्खलाको अनुगमन तथा विश्लेषण गरिएको विभागले जनाएको छ।