मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट जनादेश लिएर संविधान संशोधन गर्दै प्रदेशलाई सबल र देशलाई समुन्नत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कांग्रेस कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा अन्तक्रियामा बोल्दै सभापति थापाले नागरिकको भावना अनुरूप शासन प्रणालीलाई बलियो, जवाफदेही र प्रभावकारी बनाउनु आजको आवश्यकता रहेको बताए । उनले आगामी निर्वाचनलाई सुशासन र परिवर्तनको आधार बनाइने उल्लेख गरे ।
सभापति थापाले कुशासनको अन्त्य, भ्रष्टाचार नियन्त्रण र विधिको शासनमार्फत समुन्नत नेपाल निर्माण गर्ने लक्ष्यसहित कांग्रेस जनतामाझ जाने तयारीमा रहेको बताए । सबै नागरिकसँग समान व्यवहार, युवालाई अवसर र भविष्यप्रति भरोसा दिलाउने नीति पार्टीको प्राथमिकतामा रहेको उनको भनाइ थियो ।
“बदलिएको कांग्रेसमार्फत हामी कुशासनको अन्त्य गर्दै विधिको शासन स्थापित गर्ने स्पष्ट योजनासहित अगाडि बढेका छौँ,” उनले भने, “नागरिक, विशेषगरी युवा पुस्ताको भावना अनुसार नीति निर्माण गर्दै जवाफदेही शासन प्रणाली विकास गर्नेछौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालत र महान्यायाधिवक्ताको कार्यालयलाई थप प्रभावकारी बनाइ नागरिकलाई सहज सेवा प्रदान गर्ने व्यवस्था गरिनेछ ।”
सभापति थापाले देशलाई कुनै पनि किसिमको द्वन्द्वतर्फ धकेल्न नदिने गरी वर्तमान अवस्थालाई सम्हाल्दै सुधारको जग बसाल्ने बताए । साथै दलित, मुस्लिम, अल्पसङ्ख्यक, मधेसी, महिला लगायत सबै समुदायका हक–अधिकार सुनिश्चित गर्दै धर्म र संस्कृतिको संरक्षणमा पार्टी दृढ रहेको स्पष्ट गरे।
महामन्त्री गुरुराज घिमिरेले पार्टी पुनर्गठनपछि कांग्रेस एकताबद्ध रूपमा निर्वाचनमा होमिएको बताउँदै अब परिणाममुखी र व्यवस्थित ढङ्गले अगाडि बढ्ने धारणा राखे । “पार्टी नेतृत्व परिवर्तनसँगै देशका समस्या र जेनजी आन्दोलनका मुद्दाबारे स्पष्ट बुझाइका साथ अघि बढेका छौँ,” उनले भने, “अब देश परिवर्तन गर्नेछौँ र नेपालीलाई सम्मानित तथा आत्मनिर्भर बनाउने दिशामा केन्द्रित हुनेछौँ ।”
नेता डा शेखर कोइरालाले लोकतन्त्रप्रति प्रतिबद्ध रहँदै कांग्रेसले सबै नेपालीको सुखद भविष्य निर्माणका लागि इमान्दार प्रयास गर्ने बताए । उनले जेनजी आन्दोलनका प्रमुख एजेन्डा सुशासन, भ्रष्टाचारको अन्त्य र समृद्धि हासिल गर्न सबैलाई साथमा लिएर अघि बढिने उल्लेख गरे ।
कार्यक्रममा पार्टी सहमहामन्त्री डा डिला संग्रौला, कोशी प्रदेशअन्तर्गत विभिन्न जिल्लाबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवार सरिता प्रसाईं, ज्ञानेन्द्र कार्की, भिष्मराज आङदेम्बे, विजयकुमार गच्छदारलगायतले पनि आ–आफ्ना धारणा राखेका थिए ।