काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर वार्ता भएको छ।
आसन्न निर्वाचनको तयारी, सुरक्षा अवस्था र राजनीतिक वातावरणबारे छलफल गर्न दुई नेताबीच बिहीबार बालुवाटारमा लामो संवाद भएको हो। भेटमा एमाले अध्यक्ष ओलीले तोकिएको मितिमा निर्वाचन गर्न आवश्यक शान्ति–सुरक्षाको वातावरण अझै पूर्ण रूपमा तयार नभएको धारणा राखेका थिए ।
ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउन अझै सुरक्षा चुनौती कायमै रहेको बताउँदै सरकारको तयारीप्रति चासो व्यक्त गरेको बालुवाटार श्रोतले बतायो । यसप्रति प्रधानमन्त्री कार्कीले भने सरकारले निर्वाचन सफल बनाउन कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार मतदाता, उम्मेदवार र निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि बुधबारदेखि नै करिब ८० हजार सुरक्षाकर्मी परिचालन भइसकेको र अब कुनै कमजोरी नहुने विश्वास दिलाइएको छ।
जेन–जी आन्दोलनपछि सरकारको नेतृत्वमा पुग्नुभएको प्रधानमन्त्री कार्की र सरकारबाट बाहिरिएका एमाले अध्यक्ष ओलीबीच लामो समय संवादहीनता रहँदै आएको थियो। तर पछिल्लो समय दुई नेताबीच विश्वासको वातावरण निर्माण गर्ने प्रयास तीव्र भएको देखिएको छ।
बिहीबार बिहान करिब साढे १० बजे बालुवाटार प्रवेश गरेका ओली करिब दुई घण्टा लामो छलफलपछि बाहिरिनुभएको थियो। भेटमा निर्वाचन एकै चरणमा गर्नुपर्ने विषयमा पनि छलफल भएको बताइएको छ। एमाले र नेकपाले निर्वाचन एकै चरणमा हुनुपर्ने अडान दोहोर्याउँदै आएका छन्।