शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

ग्यास आवश्यकताभन्दा बढी सञ्चय नगर्न आयल निगमको आग्रह

बिहिबार, माघ २२ २०८२

काठमाडौँ । नेपाल आयल निगमले ग्यासको आयात मागभन्दा बढी भइरहेको भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेको छ।

निगमका अनुसार देशभर दैनिक ९० बुलेट अर्थात् एक लाख १४ हजार सिलिन्डर ग्यास आवश्यक पर्ने भए पनि पछिल्लो तीन दिनमा इन्डियन आयल कर्पोरेसनको बरौनी रिफाइनरी केन्द्रबाट ३६५ बुलेट ग्यास लोड भइसकेको छ। लोड भएका केही ग्यास बुलेट बाटोमा रहेका छन् भने केही भोलिसम्म नेपाल भित्रिइसक्ने भएकाले ग्यासको अभाव नहुने निगमले स्पष्ट पारेको छ।

बरौनी रिफाइनरी केन्द्रमा केही समय साता मर्मतका कारण ग्यास आपूर्तिमा सामान्य अवरोध देखिए पनि हाल मर्मतसम्भारको काम सम्पन्न भएसँगै ग्यास आयात पुनः नियमित भएको निगमले जनाएको छ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले मागभन्दा बढी ग्यास आयात भइरहेको अवस्थामा बजारमा अभावको अवस्था नरहेको जानकारी दिए। उनले हल्लाको पछि लागेर अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरे। ग्यास अभाव हुन सक्छ भन्ने आशङ्कामा घरमा रहेका खाली सिलिन्डरसमेत एकैपटक भर्न खोज्दा अस्थायी अभाव देखिएको उनको भनाइ छ।

यस्तै, नेपाल ग्यास विक्रेता महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले पनि बाहिर देखिएजस्तो ग्यासको गम्भीर अभाव बजारमा नरहेको बताउनुभयो। उहाँका अनुसार नेपाल ग्यासमा केही स्थानमा सामान्य अभाव देखिए पनि अन्य ब्रान्डका ग्यास सहज रूपमा उपलब्ध छन्।

निगमका अनुसार पछिल्लो शनिबारदेखि मङ्गलबारसम्म मागको तुलनामा दैनिक २५ देखि ४२ बुलेटसम्म अतिरिक्त ग्यास नेपाल भित्रिएको छ। निगमले आपूर्ति पर्याप्त रहेकाले उपभोक्तालाई ढुक्क रहन र आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न पुनः आग्रह गरेको छ।