काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली मुम्बईमा दुई अभ्यास खेल सम्पन्न गरी चेन्नई पुगेको छ । आगामी विश्वकपको तयारीस्वरूप नेपालले चेन्नईमा दुई वटा वाम–अप खेल खेल्नेछ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पहिलो वाम–अप खेल आज संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध हुनेछ । खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा सुरु हुने तालिका छ । नेपाल र यूएई चिरपरिचित प्रतिद्वन्द्वीका रूपमा चिनिन्छन् ।
विश्वकपअघि नेपालले दोस्रो वाम–अप खेल बिहीबार क्यानडासँग खेल्नेछ । दुवै वाम–अप खेल चेन्नईकै एमए चिदम्बरम मैदानमा आयोजना हुनेछन् ।
नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । यस समूहमा नेपालसँगै दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन् ।
समूह चरणअन्तर्गत नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।
क्यानका अनुसार समूह चरणका सबै खेल नेपालले मुम्बईमा खेल्ने तालिका तय गरिएको छ ।