काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको सरगर्मी देशव्यापी रूपमा बढ्दै गएको छ। उम्मेदवारहरू क्रमिक रूपमा घरदैलो अभियानमा जाने तयारीमा जुटेका छन् भने केहीले आफ्नो अभियान सुरु गरिसकेका छन्। गाउँ–सहरमा चुनावी छलफल बाक्लिँदै गएको छ, मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डा र योजनाहरू प्रस्तुत गर्ने क्रम तीव्र बनेको छ।
यससँगै राजनीतिक दलहरू पनि रणनीति बनाउन, कार्यकर्ता परिचालन गर्न र जनसमर्थन बढाउन सक्रिय देखिएका छन्। चुनाव नजिकिँदै जाँदा देशको राजनीतिक वातावरण अझ चहलपहलपूर्ण भएको छ ।
निर्वाचनको ‘इपिसेन्टर’का रूपमा रहेको झापा क्षेत्र नं. ५ मा अन्य क्षेत्रको तुलनामा बढी चहलपहल देखिएको छ। यस क्षेत्रमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह तथा विद्यार्थी राजनीतिबाट खारिएका रन्जित तामाङलगायत चुनावी मैदानमा रहेकाले प्रतिस्पर्धा थप चासोको विषय बनेको छ। झापा क्षेत्र नं.५ को चुनावी नतिजाले कम्तिमा एक भावि प्रधानमन्त्रीको दावेदारले पराजय भोग्नु पर्ने पक्का पक्की नै भएकोछ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी फागुन २१ मा हुने निर्वाचनमा पराजित हुने सन्त्रासमा ललकार्ने शैलीमा उत्रिन थालेका छन्।
उनले काठमाडौंमा भएको एउटा कार्यक्रममार्फत नै प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित सर्वोच्च अदालतलाई छिटो निर्णय दिनका लागि ललकारेका छन्। यति मात्र होइन अहिलेको सरकारले पनि चुनावमा आफूलाई पराजित गराउन खोजेको भन्ने संकेत गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रस्तावित प्रधानमन्त्री बालेन शाहको देशव्यापि चुनावी अभियानमा देखिएको जनलहर तथा झापा क्षेत्र नं. ५ स्थानिय युवा रन्जित तामाङ्गको आक्रामक घरदैलो अभियानले ओलीको यस्तो प्रकारका अभिव्यक्ति सुरु भएको स्थानिय जनताले बुझ्न थालेका छन।
‘बहुमत संसदले दिएको निवेदनमा सर्वोच्च अदालतले निर्णय दिनु पर्दैन? के हेरेर बसिरहेका छन् न्यायाधीशहरु’, ओलीको भनाई छ,‘चुनाव गर्ने भए निष्पक्ष हुनुपर्छ, यो सरकारले धाँधली गराउने सोचिरहेको छ भन्ने सुनेको छु। त्यो अस्वीकार्य हुनेछ।’
ओली झापा–५ मा निर्वाचित हुँदै आएका छन्। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा समेत ओलीलाई टक्कर दिने शैलीमा अगाडि बढेका तामाङ्गले अन्तिम समयमा तत्कालिन नेकपा माओवादि केन्दबाट चुनावी टिकट पाएका थिएनन् । सो समयदेखि नै जनताका प्रत्येक समस्या नजिकबाट नियालेका तामाङ्गले यसपटक दुई प्रधानमन्त्रीका उम्मेदवारलाई टक्कर दिने स्थानिय जनताको प्रारम्भिक भनाई रहेको छ। जसको छटपटि ओली सार्वजनिक मन्चमा व्यक्त गर्न थालिसकेका छन् । बालेनको सामाजिक सन्जालको उच्चतम प्रयोग, रन्जित तामाङ्गको आक्रामक घरदैलो अभियानले केपी ओली छायाँमा पर्न थालेको देशव्यापि रुपमा सन्देश गइरहेको छ।
ओलीको यो छटपटी केवल चुनावी नतिजासँग मात्र जोडिएको छैन, बरु यो उनको दशकौँ लामो राजनीतिक विरासत ढल्ने भयको पराकाष्ठा पनि हो। झापा–५ मा विगतका निर्वाचनहरूमा एमालेको जुन ‘अजेय’ संगठन थियो, त्यो यसपटक बालेनको ‘डिजिटल’ अभियान र तामाङ्गको स्थानियकसँगको भावनात्मक, आक्रामक घरदैलो अभियानका अगाडि रक्षात्मक देखिएको छ।
ओलीले अदालतलाई ललकार्नुको पछाडि निर्वाचनलाई प्रभावित पार्ने वा सम्भावित हारलाई ‘षड्यन्त्र’को जलप लगाउने रणनीति रहेको देखिन्छ। देशव्यापी रुपमा बालेनको पक्षमा उर्लिएको युवा आकर्षण, स्थानिय प्रखर वक्ता तामाङ्गले एमालेभित्रैका युवा कार्यकर्ताहरूलाई समेत आकर्षित गरेपछि ओलीले आफूलाई असुरक्षित महसुस गरेका हुन्। विशेष गरी पहिलोपटक मतदान गर्न लागेका नयाँ मतदाताहरूको झुकाव बालेन या रन्जित देखिएपछि एमालेका स्थानीय नेताहरूले केन्द्रमा ‘खतराको संकेत’ पठाइसकेका छन्।
अर्कोतर्फ, ओलीले सरकारमाथि धाँधलीको आरोप लगाउनुलाई हारपछिको सुरक्षित अवतरणको बाटोका रूपमा हेरिएको छ। निर्वाचन हुनुभन्दा अगावै नतिजा अस्वीकार गर्ने धम्की दिनुले ओली लोकतान्त्रिक प्रक्रियाभन्दा पनि ’भिक्टिम कार्ड’ खेलेर सहानुभूति बटुल्न चाहन्छन् भन्ने पुष्टि गर्छ। यदि फागुन २१ को निर्वाचनमा झापा–५ को नतिजा उल्टियो भने, त्यो केवल ओलीको पराजय मात्र हुने छैन, बरु नेपालको परम्परागत राजनीतिको एउटा अध्याय नै समाप्त हुनेछ।