काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमा पहिलो पटक १३२ केभी क्षमता भएको कोहलपुर–सुर्खेत प्रसारण लाइन सञ्चालनमा ल्याएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सञ्चालनमा आएको यस लाइनले प्रदेशको आर्थिक वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार विगतमा ३३ केभी क्षमताको लाइनबाट विद्युत् आपूर्ति गर्दा ओभरलोड, छिनछिनमा बत्ती जाने र लो-भोल्टेज समस्याहरू देखा पर्ने गर्दथे, तर नयाँ प्रसारण लाइनले ती समस्यामा उल्लेख्य सुधार ल्याउनेछ।
कार्यकारी निर्देशक शाक्यले पुसको तेस्रो साता स्थल अवलोकन गर्दै आयोजनालाई छिटो चार्ज गराउन ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको थियो। आयोजनाका प्रमुख रविकुमार चौधरीले करिब ५२ किलोमिटर लामो कोहलपुर–सुर्खेत खण्ड प्राधिकरणको जिम्मेवारीअनुसार छिटो सम्पन्न भएको जानकारी दिए।
उनका अनुसार दोस्रो खण्ड, सुर्खेत–दैलेख प्रसारण लाइनको काम पनि तिव्र गतिमा अघि बढ्नेछ। यस आयोजनासँगै कर्णालीमा ठूला उद्योगधन्दा सुरु हुने र उद्योगले विद्युत् उपयोगमा सहजता पाउने अपेक्षा गरिएको छ।