काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगमले आज रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि निगमले मूल्य समायोजन गरेको जनाएको छ ।
निगमका अनुसार पेट्रोल र खाना पकाउने एलपी ग्याँसको मूल्य भने हाललाई यथावत् राखिएको छ । आईओसीबाट पेट्रोलमा प्रतिलिटर ०.१२ रुपैयाँ र एलपी ग्याँसमा प्रति सिलिन्डर ४५.४१ रुपैयाँले मूल्य वृद्धि भएर आए पनि उपभोक्तामाथि तत्काल भार नपर्ने गरी निगमले मूल्यमा परिवर्तन नगरेको हो ।
यता, हवाई इन्धनतर्फ भने मूल्य घटाइएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाइएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनमा काठमाडौँका लागि प्रति किलोमिटर अमेरिकी डलर ७ ले मूल्य घटाइएको निगमले जनाएको छ । पोखरा र भैरहवाको हकमा भने ब्रेक इभन पोइन्टमै बिक्री मूल्य कायम गरिएको छ ।