झापा । झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ गतेदेखि आगामी फागुन ४ गतेसम्म सञ्चालन हुने भएको छ । झापा गोल्डकपका पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा समर्पित प्रतियोगिताको मुख्य प्रायोजन एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स’ले गर्ने भएको छ ।
झापा गोल्डकप र एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सबीच शुक्रबार प्रायोजनसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा झापा गोल्डकपका अध्यक्ष केदार गिरी र एग्रो थाई फुड्सका कन्ट्री म्यानेजर पवन श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आयोजना हुने प्रतियोगितामा यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार नगद १५ लाख रुपैयाँ र द्वितीय पुरस्कार नगद ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
विधागत पुरस्कारअन्तर्गत ‘मस्ट भ्यालुएबल प्लेयर’लाई एक थान मोटरसाइकल प्रदान गरिने छ । यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाल, भारत, भुटान र मलेसियाका गरी १० प्रतिष्ठित टोली सहभागी हुनेछन् । नेपालबाट आयोजक झापा ११ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी एफसी, एपीएफ एफसी, नेपाल पुलिस एफसी, मछिन्द्र एफसी र लालीगुराँस एसोसिएसन नेपाल (पोखरा) ले सहभागिता जनाउनेछन् ।
अन्तर्राष्ट्रिय टोलीतर्फ रोयल थिम्पु कलेज (भुटान), सिंग्लिङ स्पोर्टिङ क्लब (भारत) र एन पेनाङ एफसी (मलेसिया) सहभागी हुनेछन् ।
प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । करिब ५० हजार दर्शकले प्रत्यक्ष रूपमा खेल अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।
प्रतियोगिताअन्तर्गत झापा जिल्लाका एक जना पुराना फुटबल खेलाडी र रङ्गशालाका जग्गादाता डोमालाल राजवंशीको परिवारलाई जनही २५ हजार रुपैयाँका दरले सम्मान तथा सहयोग प्रदान गरिने कार्यक्रम पनि रहेको जनाइएको छ । विधागत पुरस्कारको सौजन्य अमेरिका निवासी रोशनलाल श्रेष्ठको टोलीले गर्ने आयोजकले जानकारी दिएको छ ।