काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकाङ्क्षा साकार पार्न सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबै मन, वचन र कर्मले समर्पित हुनुपर्ने बताएका छन् ।
सहिद दिवसका अवसरमा आज जारी गरेकाे सन्देशमा राष्ट्रपति पौडेलले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका लागि समर्पण गर्नु नै साँचो सहादत भएको उल्लेख गर्दै, सहिद दिवसले सहिदहरूको आकाङ्क्षा पूरा गर्न सबैमा प्रेरणा र हौसला प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात तथा अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले सहिद दिवस देशका लागि प्राण आहुति दिने महान् सहिदहरूको विशेष सम्झनाको दिन भएको स्मरण गरेका छन्।
सन्देशमा भनिएको छ, “नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा सामन्ती, निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूको सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउँदै आएका छौँ ।”
राष्ट्रपति पौडेलले महान् सहिदहरूको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरेका छन् ।