काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रका मतपत्रको नमूना सार्वजनिक गरेको छ ।
आयोगले सातवटै प्रदेशअन्तर्गत पर्ने जिल्लाका नमूना मतपत्र सार्वजनिक गरेको हो । एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्ला र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्ला अनुसार फरक–फरक प्रकारका मतपत्रको नमूना तयार पारिएको आयोगले जनाएको छ ।
उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको आकार फरक हुने आयोगले स्पष्ट पारेको छ । उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रमा मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो हुने र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा सानो मतपत्र प्रयोग गरिनेछ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र उम्मेदवार रहेको काठमाडौँ जिल्लामा मतपत्रको आकार ठूलो हुने जनाइएको छ ।
आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिम जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ भने दैलेख र सुर्खेतमा दुई–दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । यी जिल्लाका वास्तविक मतपत्रको नमूना सार्वजनिक गरिएको छ ।
यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरा जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेका छन् । ती सबै निर्वाचन क्षेत्रका वास्तविक मतपत्रको नमूना पनि सार्वजनिक भइसकेको आयोगले जनाएको छ ।
अन्य जिल्लाका वास्तविक मतपत्रको नमूना क्रमशः सार्वजनिक गर्दै जाने आयोगको भनाइ छ । हाल जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी रहेको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।
साथै, आयोगले मतदाता सचेतनाका लागि विभिन्न निर्वाचन क्षेत्रअनुसार नमूना मतपत्र तयार पारेर मतदान केन्द्रसम्म पुर्याउने कार्य पनि अघि बढाएको जानकारी दिएको छ ।