शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेपाल टेलिकम भ्रष्टाचार मुद्दा : सुनिल पौडेलसहित १८ जनाविरुद्ध ३३ करोड बिगो मागदाबी

बिहिबार, माघ १५ २०८२

काठमाडौँ । विशेष अदालतमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ। आज विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ हुनेछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठमा १८ प्रतिवादीविरुद्ध मुद्दा दायर गर्दै ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ। बिगोबमोजिम कैद र जरिवानासमेत माग गरिएको छ। आयोगले बिलिङ प्रकरणमा ९ करोड ८८ लाख रुपैयाँ हानिनोक्सानी भएको देखेर सो रकम असुल गर्नसमेत मागदाबी गरेको छ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक पौडेलले नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्ने काममा मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोग छ। २०६८ पुस ६ गते उनले चिनियाँ कम्पनी एसियाइन्फो लिंकेज टेक्नोलोजीसँग कन्भर्जेन्ट रियल–टाइम बिलिङ र ग्राहक समर्थन (CRTBE & CS) प्रणालीका लागि सम्झौता गरेका थिए।

सम्झौताको उद्देश्य विभिन्न प्लेटफर्ममा विद्युतीय माध्यमबाट सञ्चालित जीएसएम मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन, वाइरलाइन, वायरलेस ब्राडब्यान्ड जस्ता सेवाहरू एउटै प्लेटफर्ममा एकीकृत गरी रियल–टाइम बिलिङमार्फत शुल्क तुरुन्त गणना र अपडेट गर्नु रहेको थियो।